काठमाडौ, 1 दिसम्बर 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको मुद्दामा दलहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । बुधबार काठमाडौमा राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पार्टीहरुबीचमा आगामी दिनमा राष्ट्रियताको मुद्दामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको हो । उहाले राप्रपा र आफूहरुको पार्टीगत विचार र मान्यताहरु फरकफरक भएको तर राष्ट्रियताका मुद्धामा एकै ठाँउमा रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले नेपालमा जति कम पार्टी भयो त्यति नै राम्रो भएको धारणा राख्नुभयो । त्यस्तै कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली जनताको भावनालाई ठीक ढंगले आत्मसात गरेर परिवर्तनको संवाहक पनि बनेर अगाडि बढ्न राप्रपालाई सुझाव दिनुभयो । अध्यक्ष नेपालले राजतन्त्र र हिन्दूराज्यको सट्टा जनताले लोकतन्त्र र गणतन्त्र ल्याएकाले पछाडि फर्कन नसकिने स्पष्ट पार्नुभयो ।









































