काठमाडौं, 11 फरवरी 2023
उपप्रधान एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रियताको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला उद्घाटन गर्दै राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले अहिले राष्ट्रियतामाथि चौतर्फी प्रहार भइरहेको भन्दै राष्ट्रियताको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न विद्यार्थीहरूलाई आग्रह गरेका हुन्। उनले आफ्नो पार्टीले देशबारे कसैसँग सम्झौता नगर्ने पनि दाबी गरे। मन्त्री लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरूलाई आग्रह गरे। उनले विद्यार्थी नेताहरू स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भए पनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए। उनले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँ भन्नेलाई अनुशासनहीन हुने छुट नरहेको उनको भनाइ थियो। उनले मुलुकको शैक्षिक प्रणाली बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै भइरहेको अवस्थामा समयसापेक्ष मुलुकको शैक्षिक प्रणालीलाई परिवर्तन गर्नुपर्ने धारणा राखे।









































