काठमाण्डौँ, 17 फरवरी 2020
नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य स्वर्गीय दुर्गाप्रसाद उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा गरेको छ। सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा सोमबार उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो। श्रद्धाञ्जलीसभामा नेताहरुले सरल एवम् भद्र व्यक्तित्वको रुपमा परिचित उपाध्यायले सामाजिक कार्य एवं लोकतन्त्र स्थापनाका आन्दोलनहरुमा पुर्याएको योगदानको स्मरण गरेका थिए।
सभापति शेरबहादुर देउवाले सधै हसिलो मुहारमा देखिने उपाध्याय राष्ट्रिय चिन्तनको व्यक्ति भएको भन्दै उहाँको योगदानको स्मरण गर्नुभयो। उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनको साथै पार्टीको सिद्धान्त र विचारलाई ग्रामिण तहसम्म पुर्याउने काममा अहोरात्र खटिने उपाध्यायको निधनले सिंगो मुलुक र पार्टीलाई अपुरणिय क्षति पुगेको बताउनुभयो।
त्यसैगरी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिकुल अवस्थामा पनि गाउगाउमा बसेर पार्टीको मुल धारणालाई स्थापित गराउने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै उहाँको योगदानको स्मरण गर्नुभयो।
२०७४ सालको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर ५ बाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएका उपाध्यायको फागुन २ गते ५१ बर्षको उमेरमा निधन भएको थियो।









































