काठमाडौं, 22 नवम्बर 2021
राष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न आग्रह गर्नुभएको छ । सोमबार महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचिन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्वद्ध सबै पक्षसँग आग्रह गर्नुभएको हो । मुलुकको विकास र पहिचानमा खेलकूद क्षेत्रको महत्वपूर्ण स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ । नवनिर्मित रङ्गशालामा हुने अबका नियमित अभ्यासले खेल क्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । उहाँले मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने धारणा राख्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको बताउनुभयो । उहाँले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको उनले गुनासो गर्नुभयो।









































