काठमाडौं, 26 सितंबर 2022
मध्य रुसको इजेभस्क शहरको एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा बालबालिकासहित कम्तीमा 14 जना मारिएका छन् । उक्त घटनामा 21 जना घाइते भएको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । मारिनेमा 7 बालबालिकाका रहेका छन् । पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको मन्त्रालयले थप जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ । उक्त शहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गरेका छन् । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका र दुई जना सुरक्षा गार्डसमेत रहेको समाचार माध्यमले जनाएको छ । उक्त विद्यालयमा झण्डै १ हजार बालबालिका अध्ययनरत रहेको बताइएको छ । आक्रमणकारीले विद्यालयमा गोली चलाएपछि आफूले पनि त्यही आत्महत्या गरेको समाचारमा जनाइएको छ । उनी विद्यालयका पूर्व विद्यार्थी रहेको बताइएको छ । रसियाली मिडियाले भिडियो पोस्ट गरेका छन्, जसमा गोलीबारी भएको विद्यालयभित्र आतंक देखिएको छ । केही फुटेजहरूमा कक्षाकोठाको भुइँमा रगत र झ्यालमा गोलीको प्वाल देखिन्छ । बच्चाहरू डेस्कको मुनि लुकिरहेका छन् । अनुसन्धान समितिले अनलाइन पोस्ट गरेको एक भिडियोमा नाजी चिन्ह र बालाक्लाभा भएको टी–सर्ट लगाएको बन्दुकधारी भुइँमा मृत अवस्थामा लडिरहेको देखाइएको छ । अनुसन्धानकर्ताहरूले उनको बसोबास गर्ने ठाउँको खोजी गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले आक्रमणप्रति गहिरो शोक व्यक्त गरेका छन् ।









































