रुस, 11 अगस्त 2020
कोरोना महामारीविरुद्धको कुनै औषधी नपाएर पुरै विश्व आक्रान्त भइरहेका बेला रुसबाट भने कोरोनाको खोप बनेको समाचार आएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गर्नु भएको छ । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ‘साइड इफेक्ट’ नदेखिएको बताएको समाचारमा जनाइएको छ। पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिनुभएको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।

मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिए भने सारा विश्वका वरदान सावित हुनेछ । रुसका राष्ट्रपति पुटिनले रुसमा चाँडै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो सङ्ख्यामा खोपको डोज बनाउने बताउनुभएको छ । अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप बनाउनको लागि कयौं ठाउँमा परीक्षणहरु भइरहेका छन तर अहिले सम्म खासै सफलता पाउन सकिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देशमा झण्डै सयभन्दा धेरै खोप बनाउनको लागि काम भइरहेको बताएको छ । विश्वमा कोराना संक्रमित देशको सूचीमा चौथो स्थानमा रहेको रुसमा अहिलेसम्म आठ लाख ९७ हजार पाँच सयभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण त्यहाँ १५ हजार एक सयभन्दा धेरैको मृत्यु भएको छ ।









































