नयाँ दिल्ली, २३ जनवरी
नेपाल–चीन रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि नयाँ वर्षपछि प्राविधिक चिनियाँ टोलीे नेपाल आउने रेल विभागको आशा छ ।
काठमाडौं–केरुङ, काठमाडौं–पोखरा तथा पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ । त्यसअनुसार, तीन वटै रेलमार्गको सम्भाव्यता अध्ययन चीनले आफ्नै खर्चमा सुरु गर्नेछ । वातावरणीय अध्ययन भने नेपाली पक्षको योजना छ ।
चिनियाँ पक्षले गत १० मंसिरमा डीपीआरसम्बन्धी समझदारी भएपछि नयाँ वर्ष मनाएर प्राविधिक टोली पठाउने अनौपचारिक जानकारी दिएको थियो । ‘नयाँ वर्षपछि नै चिनियाँ टोली आएर काम थाल्छ भन्ने अपेक्षा हामीले गरेका छौं,’ रेल विभागमा महानिर्देशक वलराम मिश्र भन्छन्, ‘यसमा आवश्यक सहजीकरण हामी गर्नेछौं ।’
काठमाडौं–पोखरा रेलमार्गका लागि साढे तीन खर्ब र पोखरा-लुम्बिनी रेलमार्गका लागि करिब तीन खर्ब लागत अनुमान गरिएको छ । नेपालले तीन वटै परियोजना अनुदानमा बनाइदिन आग्रह गरे पनि लगानीको मोडालिटीका विषय टुंगिएको छैन ।