नयाँ दिल्ली, 2 जुन 2020
भारतबाट चर्को भाडा तिरेर नेपाल गइरहेका नेपालीहरुलाई अव भने केही राहत हुने भएको छ । भारत सरकारले अनलक 1 को घोषणा गरेसँगै कयौं राज्यहरुले सोमबारदेखि अन्तर जिल्ला बस सेवा शुरु गरेपछि नेपाल जान चाहने नेपालीहरुले उत्तर प्रदेश र बिहारका सीमाबाट नेपालसम्म जान सक्नेछन । हिजोदेखि उत्तर प्रदेश, हिमाचल प्रदेश र बिहार सरकारले बसहरु सञ्चालन गरेका छन । हिजो पहिलो दिन कयौं मानिसहरुलाई जानकारी नभएकाले कमै संख्यामा बसहरु चलेका थिए । उत्तर प्रदेश रोडवेजका कयौं डिपोबाट हिजो राज्यका कयौं जिल्लाहरुका लागि बस छुटेका छन । दिल्लीको आनन्द बिहार बसअड्डा नजिकको कौशाम्बी बस अड्डाबाट पनि हिजो बसहरु छुटेका छन । अब युपी रोडवेजको माध्यमले नेपाली यात्रुहरुले सुदूरपश्चिमको गौरीफण्टा, कर्णाली प्रदेशको रुपैडिहा, प्रदेश 5 को कृष्णनगर र सुनौली नाकासम्म जान सक्ने छन । त्यसैगरि बिहार राज्यमा रहेका नेपालीहरुले पनि भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज लगायत नाकासम्म जान सक्नेछन । त्यसैगरि हिमाचल प्रदेशमा पनि कयौं जिल्लाका लागि बस चलेका छन भने बिहार राज्यमा पनि बस सेवा शुरु गरिएको छ । राजस्थानमा पनि अन्तर जिल्ला बस सेवा शुरु भइसकेको छ भने, राजस्थान रोडवेजले अन्तर्राज्य बस सेवा शुरु गर्न अन्य राज्यहरुसँग परामर्श गरिरहेको छ । त्यस मध्ये हरियाणा, उत्तर प्रदेश र पंजाब बस सेवा शुरु गर्न सकारात्मक रहेका छन । दिल्लीले भने अन्तर्राज्य बस चलाउन अहिले मानेको छैन ।
यसअघि अनलक 1 को घोषणा गर्दै केन्द्र सरकारले कुनै 2 राज्यको सहमतिमा अन्तर्राज्य बस सेवा शुरु गर्न सकिने बताएको थियो । हिजोदेखि बस सेवाहरु शुरु गरिएपनि कोरोनाबाट बच्नका लागि कयौं सावधानीका उपायहरु अपनाउनका लागि भनिएको छ । बसमा केवल 60 प्रतिशत यात्रुहरुलाई मात्रै चढाउनु पर्ने, बस चालक र परिचालकको मेडिकल गरिएको हुनुपर्ने, बसहरुको सेनिटाइजेशन गरिएको हुनुपर्ने र यात्रुहरुले सामाजिक दूरीको पालना गर्दै मास्कको पनि प्रयोग गरिएको हुनुपर्ने भनिएको छ ।









































