काठमाण्डौँ, 27 अप्रेल
ठमेल क्षेत्रमा मेन्ज फाउण्डेशले लकडाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाइरहेको छ। फाउण्डेशनले लकडाउनको भोलिपल्टबाट नै ठमेल क्षेत्रमा अफ्ठ्यारोमा परेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई निःशुल्क खाना खुवाईरहेको हो। फाउण्डेशनले प्रतिदिन 2 सय जनालाई खानामा विरयानी खुवाइरहेको छ। हरेक दिन बिहान खानामा विरयानीसँगै फाउण्डेशनले मास्क पनि वितरण गरिरहेको छ। सुरुको दिन 50/60 जनालाई खाना बाँडेको फाउण्डेशनले अहिले 2 सय जनालाई निःशुल्क खाना र मास्क वितरण गरिरहेको फाउण्डेशनका अध्यक्ष मिन्हाज खानले बताउनुभयो।
अध्यक्ष खानले प्रतिदिन 10 हजार बराबरको खाना र मास्क वितरण गरिरहेको बताउनुभयो। केही साथीहरुको सहयोग प्राप्त भएपनि आवश्यक अन्य रकम फाउण्डेशनबाटै व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो। फाउण्डेशनले अहिलेसम्म विभिन्न अस्पताल र संघसंस्थाहरुलाई करिब 7 सय पीपीई पनि वितरण गरेको उहाँले बताउनुभयो। फाउण्डेशनले एक महिनाभन्दा बढि समयदेखि निःशुल्क खाना दिएपनि लकडाउनका कारण नियमित काममा फर्किने वातावरण नभएको गुनासो स्थानीयले गरेका छन्। सरकारले दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि केही गर्न नसकेको आरोप स्थानीयको छ।
सरकारले लकडाउनको समय बैशाख 25 सम्मका लागि थपेको छ। यसअघि पहिलो पटक चैत 11 गतेबाट लागु हुनेगरी एक हप्ता लक डाउन घोषणा गरिएको थियो। लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई समस्या भएको छ।









































