काठमाण्डौँ, 27 अप्रेल
कोरोना भाइरस (कोभिड-19) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको एक महिना भन्दा बढी भइसकेको छ। यसले मानविय क्षति हुनबाट देशलाई जोगाएको छ। तर अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ। देशका सबै क्षेत्रहरु ठप्प छन्। सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ। देशभर सञ्चालनमा रहेका होटलहरु पनि पूर्ण रुपमा बन्द छन्। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-19) महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि देश पूर्ण रुपमा लकडाउन भएपछि नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर परेको छ। पर्यटन क्षेत्र भित्र पनि होटल व्यवसायमा सबैभन्दा धेरै नोक्सानी भएको छ। नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टे लगायत अन्य होटलहरु पूर्ण रुपमा बन्द भएको छ। यसबाट होटल व्यवसायमा अर्बौको नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढ्ने खतरा समेत बढेको छ। खासगरी तारे होटल, होमस्टे एवं रिसोर्टहरुका ग्राहक पर्यटक हुन्। तर देश लकडाउनमा भएपछि सबै उडानहरु स्थागित भएको र मानिसहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अर्बौको नोक्सानी भएको छ।
नेपालमा 15 भन्दा बढी पाँचतारे होटल, 8 वटा चारतारे होटल, 37 वटा तीनतारे होटल, 43 वटा दुईतारे, 33 भन्दा बढी एकतारे होटल सञ्चालनमा रहेका छन्। यसबाहेक देशभर साढे दुइसय भन्दा बढी होमस्टे सञ्चालनमा छन भने पर्यटक स्तरका होटलहरु 1 हजार 1 सय भन्दा बढी सञ्चालनमा छन्। यी सबै होटलहरु अहिले बन्द रहेका छन्। जसका कारण होटल क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको छ। नेपालको होटल क्षेत्रमा बैंकहरुले समेत कर्जा लगानी गरेका छन्। व्यवसाय नै ठप्प भएपछि बैंकको किस्ता भुक्तानी गर्न समेत होटल व्यवसायीहरुलाई समस्या पर्ने देखिन्छ। होटलको अकुपेन्सी रेट शुन्य अवस्थामा आउँदा पनि अहिले सम्म होटल क्षेत्रको क्षतिको लागि सरकारले कुनैपनि प्याकेज ल्याएको छैन्। होटल व्यवसायीहरुले छोटो समयमा देखिएको यो संकटले अर्को दुई वर्षसम्म असर पार्न सक्ने बताउँदै आएका छन्। देश लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ।
नेपालमा चिनियाँ, भारतीय, एवं युरोपियन पर्यटकहरु सबैभन्दा धेरै आउने गरेका छन्। कोरोना भाइरस महामारीका कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष 2020 पनि स्थगित भइसकेको छ। पर्यटन वर्षमा धेरै पर्यटक ल्याउन ठूलो लगानी गरेका होटल व्यवसायीहरु होटल बन्द गरेर बस्नुपरेपछि अझ बढी समस्यामा छन्। सरकारले होटल क्षेत्रका लागि उचित समयमै उचित राहत दिन नसके खर्बौ रुपैयाँ लगानी भएको होटल क्षेत्र बन्द हुने मात्र नभई नेपालको पर्यटन क्षेत्र नै बन्द हुने अवस्थामा पुग्ने छ। यसबाट देशले खर्बौंको आम्दानी गुमाउने मात्र नभई लाखौं नागरिको रोजगारी समेत गुम्ने छ।









































