काठमाण्डौँ, 25 अप्रेल
कोरोना भाइरस (कोभिड-19) रोकथामका लागि लागू गरिएको लकडाउनको आज 33 औँ दिन पूरा भएको छ। गत चैत 11 गते यता देशभर लकडाउन लागू गरिएको छ। लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ। तरपनि काठमाडौँ उपत्यका लगायतका ठूला सहरहरुमा मानिसहरुले लकडाउनको पालना गरेका छन्। सहरका मुख्य सडकहरु सुनसान छन्। शनिबार पनि अत्यावश्यक सेवाका सवारी साधन चलेका छन्। कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर लगायतका सबै क्षेत्र बन्द छन्।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन्। लकडाउनको पूर्ण पालना गराउन सुरक्षाकर्मीले गर्ने जाँचलाई कडाई गरेको छ। चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन्।
सहरका भित्रि सडक पनि सुनसान छन्। पसलहरु बन्द रहेका छन्। तर केही अत्यावश्यक खाद्य सामग्री विक्री गर्ने पसल र औषधि पसलहरु सञ्चालनमा आएका छन्। मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर सामग्री खरिद गर्ने गरेका छन्।
सरकारले वैशाख 15 गतेसम्म लकडाउनको समय तोकेको छ। 15 गते पछि लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न शनिबार कोरोना भाइरस (कोभिड-19) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ। कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने विषयमा छलफल भइरहेको बुझिएको छ।
नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या 49 पुगेको छ। यस्तै 11 जनालाई निको भइसकेको छ। अहिले सम्म 9 हजार 4 सय 8 जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ। देशभर 12 हजार 9 सय 85 जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा 89 जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।









































