काठमाण्डौँ, 13 मई 2020
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारी कोषमा थन्किएर बसेको अर्बौ रकम स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणका लागि खर्च गर्न आग्रह गरेको छ। सरकारको विपद व्यवस्थापन कोषमा अर्बौ रकम जम्मा भएपनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको काँग्रेसले जनाएको छ। कोषमा करिब 3 अर्ब रकम जम्मा भएपनि सरकारले कोरोना नियन्त्रणका लागि खर्च गर्न नसकेको काँग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो। सरकारले रकम नदिँदा स्थानीय तहहरू सिमित स्रोत साधनकाबीच कोरोनासँग लडिरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘सरकारको विपद व्यवस्थापन कोषमा पहिले पनि डेढ अर्ब थियो। अहिले कोषमा करिब 3 अर्ब रुपैयाँ जम्मा भएको छ। त्यो रकम कोरोना नियन्त्रणका लागि सिंहदरबारमा बस्ने सरकारले नभएर राहत बोकेर घरमै जाने स्थानीय सरकारको वडा अध्यक्षहरुले खर्च गर्ने हो। केन्द्रको सरकारको ढुकुटीमा जम्मा भएको रकम स्थानीय सरकारलाई राहतको लागि दिनुपर्ने भएपनि अहिलेसम्म स्थानीय तहमा त्यो रकम पुग्न सकेको छैन्।’’
काँग्रेसले पहिलो पङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको समेत कोरोना परीक्षण गर्न माग गरेको छ। मंगलबार पहिलो पङ्क्तिमा रहेर काम गर्ने क्षेत्रका व्यक्तिहरूमा समेत संक्रमण देखिएको तर्फ संकेत गर्दै शर्माले व्यवस्थित रुपमा उनीहरूको परीक्षण गर्न आग्रह गर्नुभयो। कोरोना परीक्षण दायरा बढाउन आग्रह गर्दै शर्माले सांसद विकास कोषको रकम पनि यसका लागि खर्च गर्न आग्रह गर्नुभयो। एक नागरिकको जीवनभन्दा ठूलो सरकारी ढुकुटीमा जम्मा भएको पैसा नहुने भएकाले परीक्षणतर्फ ध्यान केन्द्रीत गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो।
अहिले श्रम, विद्यार्थी र बेरोजगारहरू जस्तै विभिन्न पेशा व्यवसायका व्यक्तिहरू पनि समस्यामा रहेकाले सबैलाई समेट्नेगरी राहतका कार्यक्रम ल्याउन पनि उहाँले आग्रह गर्नुभयो। विभिन्न देशमा अलपत्र परेका नागरिकको उद्धारका लागि गम्भिरता देखाउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो। रोजगारी गुमाएर आएका हजारौँ नेपाली सीमानामा रोकिएर बसेको र केही नागरिकहरु लुकिछिपी नेपाल प्रवेश गरिरहेको तर्फ पनि काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। लुकिछिपी नेपाल प्रवेश गरिरहेका नागरिकहरुबाट संक्रमण फैलिएको उल्लेख गर्दै शर्माले सीमा क्षेत्रमा रहेका नागरिक र अन्य मुलुकमा अफ्ठ्यारोमा परेका नागरिकलाई व्यवस्थित रुपमा स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न पनि आग्रह गर्नुभयो। सरकारले कोरोना परीक्षणका लागि केन्द्र विस्तार र स्वास्थ्य सामग्री खरिदजस्ता राम्रो काम गरेपनि ढिलासुस्ती, अपारदर्शीता भएको उहाँले बताउनुभयो। सरकारले व्यवस्थित र विश्व संगठनको मापदण्ड अनुसारको क्वारेन्टाइनमा निर्माण गर्न नसकेको, कोरोनासँग जुध्नुपर्ने बेलामा प्रधानमन्त्री सत्ताको खेलमा लागेको शर्माले बताउनुभयो। शर्माले अहिलेको सरकारले नैतिक र राजनीतिक रुपमा शासन गर्ने अधिकार गुमाएको ठहर कांग्रेसले गरेको बताउनुभयो।
नेपाली भूमि कालापानी क्षेत्रबाट भारतीय सेनालाई फर्काउने विषयमा पनि काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। नेपालको अभिछिन्न अधिकार रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका विवाद समाधानका लागि सरकारले भारत र चीनसँग नेपाल सरकारले संबाद गर्नुपर्ने बताउनुभयो। कुनीतिक र राजनीतिक प्रक्रियाबाट यसको पहल गर्नुपर्नेमा सरकार औपचारिक वक्तव्यमा राष्ट्रवादलाई प्रस्तुत गर्नमा मात्रै सिमित भएको बताउनुभयो।
काँग्रेसले लकडाउनको अघिल्लो दिन स्थगित भएको एस.ई.ई. परीक्षाको विषयमा अहिलेसम्म सरकारले केही नभन्दा विद्यार्थीहरु आफ्नो भविष्यप्रति चिन्तित भएको उहाँले बताउनुभयो।









































