नयाँ दिल्ली, 23 मार्च
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भोलीदेखि लकडाउन गम्भीरतापूर्वक पालना नभए दिल्ली सरकारले कडा कदम उठाउने चेतावनी दिनुभएको छ । आज दिल्लीमा पत्रकारहरुलाई सम्बोधित गर्दै केजरीवालले मानिसहरुलाई गम्भीरतापूर्वक लकडाउन पालना गर्न अपील समेत गर्नुभयो । उहाँले मानिसहरुलाई सहजताका लागि भन्दै भोलीदेखि डीटीसीका 50 प्रतिशत बसहरु सञ्चालन गरिने पनि जानकारी दिनुभएको छ ।
यसअघि हिजो पूर्णरुपमा लकडाउनको घोषणा गर्दै केजरीवालले डीटीसीका 25 प्रतिशत बसहरु सञ्चालन हुने बताउनु भएको थियो । आजको घोषणामा केजरीवालले घर भाडा दिननसक्ने घरधनिलाई 1 वा 2 महिनाको भाडा नलिन पनि भन्नुभएको छ ।
कोरोना भाईरसको प्रकोपका कारण भारतको राजधानी दिल्लीलाई हिजोदेखि लकडाउन गरिएको छ । 31 मार्च राति 12 बजेसम्म जारी रहने लकडाउनका कारण आज दिल्लीका सडकहरु सुनसान रहेका थिए । लकडाउनका दौरान नीजि बस, टैक्सी, अटो रिक्शा, रिक्शा, ई-रिक्शा सबै सार्वजनिक यातायात सेवा बन्द छ । दिल्लीसँग जोडिएका सम्पूर्ण राज्यहरुका सीमाहरु सील भएका छन । आवश्यक सामानहरुः जस्तै दूध, तरकारी, खाने-पीउने सामानहरुको आपूर्ति भने भइरहेको छ ।









































