धनगढी, ७ फरवरी,२०२०
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउने काम गरिएको भन्दै धनगढीमा विरोध प्रदर्शन गरेको छ ।
बिहीबार धनगढी एलएन चौकमा मसाल जुलुस निकाल्दै नेपाल विद्यार्थी संघले ललिता निवासको जग्गा प्रकरणमा मुछिएका सत्तारुढ दलका नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेललाई पनि कारबाहीको माग गरेका हुन् । नेकपाले अख्तियारलाई हातमा लिएर आफ्ना नेतालाई जोगाएको नेवि संघका निर्वतमान उपाध्यक्ष पुष्पकुमार शाहीले बताए ।
उनले कांग्रेस नेता विजयकुमार गच्छदारलाई फसाउन सत्तारुढ दलले झुटा मुद्दा लगाएको आरोप लगाए । विजयकुमार गच्छदारको जग्गा प्रकरणमा कुनै भूमिका नरहेको बताउँदै उनीमाथि लागेको आरोप फिर्ता गरिनुपर्ने माग गरे ।
मसाल जुलुसमा नेविसंघका निर्वतमान केन्द्रीय सदस्य भेष वम, तपेन्द्र भुषाल लगायतको सहभागिता रहेको थियो ।









































