काठमाण्डौँ, 25 अप्रेल
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। शुक्रबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो। लकडाउनका कारण पुरै रथ नबनाए पनि देवतालाई राख्न मिल्ने गरी खट बनाएर रथारोहण गरिएको छ। धुमधामसँग र विधिपूर्वक मच्छिन्द्रनाथको रथारोहण पुल्चोकमा बनाइएको रथमा गराइने चलन भएपनि यो वर्ष लकडाउनका कारण परम्परालाई निरन्तरता दिन मच्छिन्द्रनाथ राखिएकै स्थानमा रथारोहण गरिएको छ। लकडाउनले पुरै रथ बनाउन नसकिए पनि महामारी अवस्थाबाट मुक्त हुन सकियोस्, कसैलाई पनि रोग नलागोस् भनेर मच्छिन्द्रनाथको रथारोहण गरिएको मुख्य पुजारी कमलराज बज्राचार्यले बताउनुभयो। नौँ दिन अगाडीबाट व्रत बसेर विभिन्न ठाउँमा पुजा गरिन्छ। पुजा सकाएर आमाको मुख हेर्ने दिन कुटुबहाल दहमा गएर त्यही बास बस्ने र भोलीपल्ट मच्छिन्द्रनाथ ल्याउने पराम्परा रहेको उहाँले बताउनुभयो।
लकडाउनका कारण रथ निर्माण नगरिए पछि यो वर्ष पाटनको तःबहालमा रहेको मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीको पाटनमा राखिएको छ। लकडाउनको अन्त्य र महामारीको परिस्थिति हेरेर रथ निर्माण गर्ने र जात्रा सञ्चालन गर्न बताइएको छ। तर यो वर्ष परम्परा अनुसार मच्छिन्द्रनाथको रथारोहण गरिए पनि नगर परिक्रमा भने गराइएन।
लिच्छिवी राजा नरेन्द्र देवका पालामा भारतको कारूप कामाख्या गइ रातो मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याइएको किंवदन्ती छ। गुरु गोरखनाथले नव नागको आसन बनाएर बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा र्कोटक नागराजा समेत कामरूप कामाख्या गइ रातो मच्छिन्द्रनागलाई काठमाडौँ उपत्यका ल्याएको किंवदन्ती पाइन्छ। आफ्नो गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भइ वर्षा र सहकाल लागेको विश्वास गरिन्छ। करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको रथलाई सुन्धारा, नुगल, लगनखेल हुँदै जावलाखेल पुऱ्याएर साइत अनुसार भोटो देखाइ मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मतीमा लगेपछि जात्रा समापन भएको मानिन्छ। जानकारहरुका अनुसार यो भन्दा अगाडी जस्तो सुकै अफ्ठ्यारो अवस्थामा पनि जात्रा रोकिएको थिएन।









































