काठमाण्डौँ, 13 मार्च 2020
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि बिना पुर्वाग्रह कारवाही गर्नुपर्ने बताउनुभएको छ। संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पुर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पुर्वाग्रह नराखी कारवाही गर्न माग गर्नुभएको हो। उहाँले तारा गाउँ, वाईडवडी, न्यारोवडी लगायतमा आर्थिक अनियमितताका कयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभयो।
उहाँले विकास निर्माण लगायतका आयोजनाहरु बनाउँदा दीर्घकालिन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिनुभयो। छोटो समयमा नै असफल देखिने योजनाहरु बनाईएको भन्दै उहाँले संभावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गर्नुभयो। लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा बनाईएको एरोवृजको उदाहरण दिदै त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालिन सोच राख्न नसकिएको बताउनुभयो।
उहाँले टर्किस एयरलायन्सले काठमाण्डौमा लिने हवाई इन्धनको मुल्य अत्यन्तै बढी भएकाले उडान नै स्थगित गर्ने संभावना रहेकाले त्यसबारे मन्त्रालयको ध्यानाआकर्षण गराउनुभयो।









































