दमौली, 7 नवम्बर 2022
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताए ।
उनले भने, “देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो” ।
उनले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे ।
“हामी रेल र पानीजहाजका कुरा गर्दैनौ, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं”। पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए ।
गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पुर्याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे । देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए ।









































