काठमाडौं, 7 दिसम्बर 2021
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडीको सामाजिक सुरक्षा, अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नियमित पुरस्कारको ब्यवस्था गर्नुपर्ने लगााएतका माग राख्दै राखेप सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार संघले सदस्यसचिव घिसिङलाई सफल कार्यकालको शुभकामना दिदै आफ्ना बिभिन्न ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले खेलाडीको प्रोत्साहन भत्तामा अहिले स्वर्णलाई मात्र दिँदै आएकोमा रजत र काश्य पदक विजेतालाई पनि ब्यवस्था गर्न माग राखेको छ । त्यस्तै सागमा स्वर्ण र रजत जित्ने खेलाडीलाई खेलकुदमा नै राज्यले रोजगारीको ब्यवस्था गर्ने गरेकोमा पछिल्लो पटक त्यो ब्यवस्था हटेकाले त्यसलाई फेरी निरन्तरता गरिदिन माग गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । खेलाडीको कल्याणकारी कोषमा अर्थ मन्त्रालयले गरेको बाचा अधुरो रहेको र यसलाई थप मजबुत बनाउन हरेक बर्ष २० लाख रुपैयाँ कोषमा थप गर्नका लागि पहल गर्न उहाले अनुरोध गर्नुभयो ।खेलाडीहरुले ध्यानाकर्षण बुझ्दै राखेप सदस्य सचिव घिसिङले संघले राखेका बिषयलाई आफुले सम्बोधन गर्ने बताउनुभयो । कोषमा २० लाख थप्ने बिषयलाई निरन्तरता दिन पहल गर्ने र यसलाई कार्यबिधि बनाएर खर्च गर्नुपर्ने उहाको भनाई छ । उहाले जीवनको महत्वपूर्ण समय राष्ट्रका खर्चिएका खेलाडीहरुको उचित व्यवस्थापनका लागि कार्ययोजना बनाइने बताउनुभयो । संघले खेलकुद मन्त्रालय र राखेपमा नयाँ नेतृत्व आएपछि ध्यानाकर्षण बुझाउने गरेका छन् । ध्यानाकर्षण बुझाएपनि आफ्ना मागका बारेमा सरोकारवाला निकाय गम्भीर नभएको संघको गुनासो छ।









































