दिल्ली, 3 मई 2022
विदेशबाट लुकाएर ल्याइएको १०० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले एक जना यात्रुलाई पक्राउ गरेको छ । भन्सार कार्यालयले कुवेतबाट जजिरा एअरबाट काठमाडौँ आएका रुपन्देहीका २८ वर्षीय यात्रुलाई नियन्त्रणमा लिएको हो । आज 3 मई बिहान ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनले मिक्सरको भित्री भागमा फल्स बटम बनाएर १०० ग्राम सुन ल्याएका थिए । लुकाएर ल्याइएको सुनलाई बाहिरबाट कालो टेपले बेरिएको थियो । चेकजाँच गर्ने क्रममा सुन भेटिएपछि नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ । भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिर्नुपर्ने व्यवस्था छ । राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५६५ रुपैयाँ राजस्व तिर्नुपर्छ । तर, ती यात्रुले भन्सार राजस्व छल्ने बदनियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याइएको पाइएको छ ।









































