काठमाण्डौ, 14 जनवरी 2020
भारतले विनय मोहन क्वात्रालाई नेपालका लागि भारतको नयाँ राजदूतका रुपमा नियुक्त गरेको छ । भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । विनयलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
क्वात्रा फेब्रुअरीको शुरुवातमा नेपालमा राजदूतका रुपमा पदभार ग्रहण गर्ने अनुमान गरिएको छ । अहिले फ्रान्सका लागि भारतीय राजदूत रहनुभएका क्वात्राले नेपालमा मञ्जीव सिंह पुरीको स्थान लिनुहुनेछ। मञ्जीव सिंह पुरीको कार्यकाल डिसेम्बरको अन्त्यसँगै समाप्त भएको थियो।
क्वात्रा विगत ३० वर्षदेखि भारतीय कूटनैतिक सेवामा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले भारतको प्रधानमन्त्री कार्यालयमा ज्वाइन्ट सेक्रेटरीको रुपमा काम गर्नुभएको थियो। त्यसपछि उहाँ भारतीय विदेश मन्त्रालयमा पोलिसी प्लानिङ एण्ड रिसर्च डिभिजनमा जानुभएको थियो ।
सन् १९८८ मा कूटनीतिक सेवामा प्रवेश गर्नुभएका क्वात्रा फ्रान्सका लागि भारतीय राजदूत हुनुहुन्छ । उहाँ यसअघि सन् २००६ देखि २०१० सम्म सार्क सचिवालयमा निर्देशकको रूपमा नेपालमा हुनुहुन्थ्यो। क्वात्रालाई अनुभवी कूटनीतिज्ञको रूपमा मानिन्छ।









































