काठमाण्डौ, 25 मे 2021
विपक्षी गठबन्धनले अदालतमा परेको मुद्धा बारे रणनीति बनाउन छलफल सुरु गरेको छ । विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले सोमबार प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सो रिटमाथि हुने बहसमा कसरी प्रस्तुत हुने भन्ने बारेमा रणनीति बनाउन विपक्षी गठबन्धनले कानुन व्यवसायी सहितको छलफल सुरु गरेको हो । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा विशेष गरेर संसद विघटन विरुद्ध र सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि गरिएको प्रस्तावका सम्बन्धमा कानुनी लडाई कसरी अघि बढाउने भन्ने बारेमा परामर्श गर्ने काम भएको नेता रमेश लेखकले जानकारी दिनुभयो ।
उहाँले लोकतन्त्र नै नरहने खतरामा मुलुक पुगेकाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई जोगाउनका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रक्रियामा आफुहरु अघि बढेको बताउनुभयो । उहाँले संसदको बहुमत सदस्यहरुले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रस्ताव गर्दा प्रधानमन्त्री बनाउन अस्वीकार गर्नु संसदीय पद्धतिमाथिकै मजाक भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “लोकतन्त्र नै नरहने खतरामा मुलुक पुगेको छ । मुलुक एउटा नयाँ धु्रवीकरणमा प्रवेश गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई जोगाउनका लागि नेपाली कांग्रेसको नेतृत्वमा हामी अगाडि बढेका छौ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने ठूलो चलखेल भईरहेको छ । अहिले संसदको बहुमत सदस्यहरुले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा जीलाई प्रस्ताव लगिसकेपछि पनि संसदीय पद्धतीमा प्रधानमन्त्री बनाउन इनकार गर्ने भनेका, संसदीय पद्धतिमा त्यो भन्दा ज्यादा मजाक के हुन सक्छ ? हिजो त सर्वोच्च अदालतमा देखियो त बहुमत कता रहेछ भन्ने । संसदीय पद्धतिमा संसदीय अभ्यासमा संसदको बहुमत सांसदहरुले भनेको मानिस प्रधानमन्त्री हुने होइन भने प्रधानमन्त्री हुने को हो ? ”
उहाँले संसदीय प्रणाली अनुसारका प्रस्तावहरु अस्वीकृत हुदै जाँदा संविधान र व्यवस्था नै नरहने खतरा बढेकाले त्यसको रक्षाका लागि न्यायीक लडाई अघि बढाउनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “संसदीय पद्धतिमा बहुमत सांसदहरुले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको मान्छे प्रधानमन्त्री बन्दैन भने अनि यो संविधान जीवित रहन्छ ? अनि यो व्यवस्था जीवित रहन्छ ? संघीय लोकतान्त्रिक गणतन्त्र जीवित रहन्छ ? त्यसकारण अहिलेको लडाई भनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने लडाई हो । आजको छलफल भनेको यही न्यायीक लडाईमा कसरी अघि बढ्ने भन्ने नै हो ।”
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेता सहभागी थिए ।









































