७ पुस, दाङ्ग। नेत्रविक्रम चन्दका दाई चन्द्रवहादुर चन्द सहित दाङमा पक्राउ परेका बिप्लव समूहका २१ नेता जेल गएका छन्। दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा उनिहरु जेल चलान भएका हुन्। सोमवार जिल्ला अदालतले उनिहरुलाई जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर विप्लव समूहका २१ जना नेताले आँफूहरुले धरौटी तिर्न नसक्ने भएका कारण कारागार चलान हुने निर्णय लिएका थिए।
गत कार्तिक ३० गते दाङको राजपुर गाउँपालिकाको बिकट जंगल क्षेत्रबाट पक्राउ परेका उनिहरुलाई राज्य विरुद्धको संगठित अपराधको मुद्धा प्रहरीले चलाएको थियो। नेकपाको राप्ती ब्यूरो बैठकमा सहभागी हुन गएका बेला प्रहरीले दाङको राजपुर गाउँपालिका ४ मुग्रेटाखोला भन्ने स्थानबाट उनिहरुलाई नियन्त्रणमा लिएको थियो।
‘जिल्ला अदालतले तोकेको धरौटी रकम तिर्न नसक्ने भएपछि कारागार जाने निर्णयमा पुगेका हौँ,’ नेत्रविक्रमका दाजु चन्द्रले भने ‘हामी धरौटी तिरेपनि मुक्त हुने अवस्था थिएन।’ अदालतमा धरौटी तिरेर आँफुहरु रिहा हुने अवस्था नरहेको समेत उनले बताए । फरक मुद्धा लगाएर प्रहरीले अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिने तयारी गरेको थियो। प्रहरीको यहि चाल थाहा पाएपछि उनिहरु अदालतमा धरौटी नबुझाएर कारागार जाने निर्णयमा पुगेका थिए।









































