काठमाण्डौ, 24 मे 2021
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दले साेमवार विज्ञप्ति निकालेर तत्काल अध्यादेश फिर्ता गर्न माग गर्नुभएकाे हो । हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भए पनि सत्ता सङ्कट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासचिव चन्दले बताउनुभएको छ ।
राष्ट्रिय महत्त्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक रहेको भन्दै उहाँले त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता सङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्रै निर्णयहरू सार्वजनिक हुने गरेको उहाँको आरोप छ ।
जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको थियो । त्यसलगत्तै सरकारको चर्को आलोचना भइरहेको छ ।










































