काठमाडौं, 10 जनवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम सुरु गर्ने बताएका छन् ।
उनले भने, ‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेका छौं’।
राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो कार्यकालमा अनुभव र टिम नहुँदा राम्रोसँग काम गर्न नसकेको बताए । दोस्रो कार्यकालमा संविधान संशोधनमार्फत मधेशलाई विश्वासमा लिने कोशिस गरेको, स्थानीय तह निर्वाचन गरेको, लोडसेडिङ अन्त्य गरेको र राजनीतिक सहमतिको इमान्दार पालना गर्दै सत्ता हस्तान्तरण गरेको प्रचण्डले बताए ।
उनले आफूले निषेध, अपमान र प्रतिशोधको राजनीति नगरी सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको पनि बताएका छन् ।
अहिलेसम्म मुलुकमा भएका राजनीतिक परिवर्तन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेरमात्र भएको भन्दै यी दुई शक्तिको बेमेल हुँदा मुलुक अप्ठेरोमा परेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।









































