काठमाडौं, 13 मार्च 2023
प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ। गत फागुन १७ गते प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ। त्यसभित्र नेपाली कांग्रेसहितका दलहरूलाई सरकारमा सहभागी गराएर दाहालले विश्वासको मत लिने तयारीमा जुटेका छन्। चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि गठबन्धनका दलहरू सरकार विस्तारसहितको काममा लाग्ने र चैत ८ गते प्रतिनिधिसभाबाट दाहालले विश्वासको मत लिने तयारीमा जुटेको स्रोतको दाबी छ। सोही अनुसार सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि चैत ८ गतेसम्मका लागि सूचना जारी गरी स्थगित गरिएको छ। सत्तामा रहेका प्रमुख दुई दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि दुवै दल प्रतिपक्षमा बस्ने तर प्रतिपक्षमा बसेको कांग्रेस प्रधानमन्त्री दाहालले विश्वासको मत नलिएसम्म प्रतिपक्षमा बस्ने भएपछि संसद्का बैठक प्रभावित हुँदै आएको छ । सरकारमा सहभागी दुई दलले त्यसबाट अलग हुँदै समर्थन फिर्ता लिएपछि दाहालले संविधानको धारा १०० को उपधारा २ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। राप्रपाले फागुन १३ गते समर्थन फिर्ता लिँदै सरकारबाट अलग भएकाले दाहालले चैत १२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
तर, कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत लिन आग्रह गरेसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन पाएका छैनन्। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते भइसकेको छ भने उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिन सकिने भए पनि प्रधानमन्त्री दाहाललाई कांग्रेसले अझै केही दिन ढिलाइ गर्न भनेको माओवादीका एक नेताले बताए।
प्रधानमन्त्रीले अब चैत ८ गते विश्वासको मत लिने बताउनु भएको छ, तर, कांग्रेसले अझै दुई चारदिन पछि लिन सुझाब दिएको ती नेताले बताए। संभवत चैत ८ गतेसम्ममा विश्वासको मत लिन सक्ने भएको अनुमान गर्दै राष्ट्रियसभाको सोमबार बोलाएको बैठक चैत ८ गतेसम्मका लागि सूचना जारी गरेर स्थगित गरिएको संसद् सचिवालय स्रोतले बतायो।









































