काठमाडौं, 7 जनवरी 2023
एमाले अध्यक्ष केपी ओलीले यो सरकारले विश्वासको मत नलिँदै ढाल्ने खेल शुरु भएको बताएका छन् । नेपाल मार्बल व्यवसायी संघको दशौँ अधिवेशनमा सम्बोधन गर्दै ओलीले बाह्य शक्तिको इच्छाविपरीत नेपाली आफैँले सरकार बनाएपछि अस्थिरता बढाउन विदेशीले विश्वासको मत नपाउँदैदेखि ढाल्ने खेल खेलेको आरोप लगाएका हुन् ।
उनले भने, ‘स्थिरता हुनै नदिने गरी अस्थिरता थोपरिएको छ । स्थिरता फर्काउन खोजेपछि हामी खुशी हुनुपर्छ । तर, बाह्य शक्तिको इच्छाविपरीत फेरि पनि नेपालीले आफैँले सरकार गठन गरे । देख्दा सानो कसको के भयो, को प्रधानमन्त्री भएर के मतलब भन्ने हुनसक्छ । जस्तो भए पनि आफूले बनाउने की अर्कोलाई बनाउन दिने ? नेपालीले सरकार बनाएपछि बाहिरी शक्ति आत्तिएका छन् । बाहिरी शक्तिको खाइनखाई दौडधुप छ । हाम्रो देशको यत्रो चासो किन ? विकासमा चासो नहुने, अरु कुरामा चासो नहुने । सरकार बन्न पाएको छैन’।
‘विश्वासको मत लिन नदिने, विश्वासको मत नपाओस् भनेर लागेका छन् । अर्को अस्थिरता होस् भन्ने, बनाउने र सधैं सरकार फेर्ने, बनाउने–ढाल्ने खेलमा नेपाली अल्झिरहुन् भनेर लागेका छन् । आज एउटा दलाल बनाउन पाइन्छ भनेर खोज्ने । म दलाल बन्छु हजुर भन्नेलाई टिका लगाइदिने । यस्तो बीचमा हामीले चुनावपछि नयाँ सरकार बनाएका छौँ । यस सरकारकाले समृद्ध नेपाल सुखी नेपाली बनाउन लाग्छ ।’









































