वीरगन्ज, १७, फरवरी, २०२०
वीरगन्जको माइस्थानमा रहेको थोक किराना तथा श्रृंगार पसलको गोदाममा सोमबार दिउँसो आगलागी भएको छ ।
माइस्थानस्थित गहवामाइ मन्दिर अगाडि रहेको पार्क सामुन्नेको बिटटु किराना पसलको गोदाममा आगलागी भएको हो ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुका अनुसार बिटटु किराना पसल रहेको घरको दोश्रो तल्लामा रहेको गोदाममा दिउँसो २ बजेतिर आगो लागेको हो ।
गोदामभित्र लागेको आगोले भण्डारण गरी राखेको श्रृंगार र किराना सामान जलेर नष्ट भएका छन् । पसल तथा गोदामका सन्चालक सन्जय साहका अनुसार गोदाम भित्र करिब ५० देखि ६० लाख मुल्य बराबरको सामान भण्डारण गरिएको थियो ।
बिजुलीको तार सर्ट भएर गोदामभित्र आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेकाले अहिले नै आगलागीबाट कति क्षति भयो भन्ने यकिन नभएको प्रहरी निरीक्षक पनेरुले जानकारी दिए ।









































