काठमाण्डौँ, 11 फरवरी 2020
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा भरत खवासले ५० औं गोल पूरा गरेको दिन मंगलबार आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० ले हराउँदा थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबले आ– आफ्नो खेलमा जित निकालेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले शीर्ष स्थानमा फर्किन ब्रिगेड ब्वाइजलाई ३–० ले पराजित गरेको छ भने थ्री स्टारले न्युरोड टिम (एनआरटी) र मनाङले विभागीय टोली नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ।
ब्रिगेड ब्वाइजलाई पराजित गर्दा भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले समान एक/एक गोल गरे। जितसँगै शीर्ष स्थानमा फर्किएको आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रबीच हुने लिगको अन्तिम खेलले नै उपाधिको छिनोफानो लाग्ने टुङ्गो भएको छ। तालिकामा आर्मीको २९ अंक छ भने मच्छिन्द्रको २८ अंक रहेको छ।
मंगलबार भएको खेलमा आर्मीले भरतको पाँचौ मिनेटको गोलबाट सुरुआती अग्रता लिएको थियो। उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको आर्मीका लागि ५०औं मिनेटमा बिकास तामाङले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। यस अघि पहिलो हाफमा ब्रिगेड ब्वाइजले खेलमा फर्किन निकै संघष गरे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएको थियो। ७०औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै अग्रता ३–० मा पुऱ्याउदा आर्मीको जित सुनिश्चित गरको थिए।
यस्तै लिग अन्तर्गत मंगलबारै सम्पन्न अर्को खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली नेपाल पुलिसलाई २–० हराउँदै शीर्ष तीनको बलियो दाबेदारी कायम राखेको छ। १२औं चरणका खेल सकिँदा थ्री स्टार मनाङ भन्दा दुई अंकले पछि रहँदा चौथो स्थानमा अटाएको हो। जित पछि मनाङको २५ अंक भएको छ भने पुलिस छैठौं स्थानमा छ। पुलिसमाथि जित निकाल्नका लागि साविकको विजेता मनाङका अञ्जन विष्ट र विमल रानाले एक÷एक गोल गरे। निकै रोमाञ्चक बनेको पहिलो हाफमा विमल रानाले ३२औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको ११ मिनेट पछि अञ्जन विष्टले थोल थप्दै पहिलो हाफमा २–० को अग्रता दिलाए। पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै मनाङले शीर्ष तीनको दाबेदारीलाई कायम राखेको हो।
मंगलबारकै अर्को खेलमा थ्री स्टारले न्युरोड टिम (एनआरटी) माथि १–० को कठिन जित निकालेको छ। थ्री स्टारको साँघुरो जितमा दिपेश घलेले ७७औं मिनेटमा निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दिपेशले गोल गर्दै थ्री स्टारलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले डिबक्स बाहिर प्राप्त बललाई आकार्षक शैलीमा पोस्ट दिशा दिएका थिए।
जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले १२ खेलमा २३ अंक जोडेको छ। यस सँगै थ्री स्टारले सुपर सिक्समा स्थान पक्का गरेको छ। थ्री स्टारसँग पराजित एनआरटी १५ अंक जोडेर आठौं स्थानमा रहेको छ । यो हारसँगै एनआरटीको शीर्ष ६ को सम्भावना समेत कठिन बनेको छ। शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछ। लिगमा बुधबार एक खेल मात्र हुनेछ। हिमालयन शेर्पाले जावलाखेल युथ क्लबसँग एन्फा मुख्यालयमा प्रतिस्पर्धा गर्नेछ।









































