काठमाडौं, 18 दिसम्बर 2021
शान्ति र अहिंसाका प्रवर्धक डा. डिल्लीरमण रेग्मीको १०९ औं जन्मजयन्ती एक कार्यक्रमको आयोजना गरी शान्ति दिवसका रुपमा मनाइएको छ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति र डा. डिल्लीरमण रेग्मी प्रतिष्ठानले रेग्मीको स्मरण गर्दै शान्ति दिवसका रुपमा मनाएको हो । कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले स्वर्गीय डा. डिल्लीरमण रेग्मीको राजनीतिक र सामाजिक व्यक्तित्वका बारेमा चर्चा गर्नुभयो । उहाले डा. रेग्मीले आफ्नो मृत्युपश्चात पुस्तकालय सहित सम्पूर्ण निजी सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गरेर महत्वपूर्ण योगदान गरेको जिकिर गर्नुभयो । डा. रेग्मीको जन्म वि. सं. १९७० साल पुस ३ गते काठमाण्डौको किलागलमा भएको थियो भने मृत्यु वि.सं. २०५८ साल भदौ १४ गते भएको थियो । प्रारम्भमा राजनीतिमा सक्रिय रेग्मी छाटो अवधिकालागि शिक्षा मन्त्री समेत हुनुभएको थियो । शुरुदेखीनै भारतीय अहिंसाबादी नेता महात्मा गान्धीबाट प्रभावित रेग्मीलाई शान्ति र अहिंसाका प्रवर्धकका रुपमा चिनिन्छ ।









































