शिक्षाका लागि विदेशिने रकम दोब्बरले बढ्यो, नेपालको सेवा आय घाटामा
काठमाडौँ, 17 अक्टोबर 2023
शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ ।
यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो । शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको सेवा आय घाटामा रहेको छ ।
तथ्यांक अनुसार भदौसम्म खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सेवा आय १९ अर्ब २६ करोड रुपैयाँ मात्र घाटामा थियो ।
अर्थात नेपालमा पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश जाने नेपालीको खर्च ज्यादै धेरै देखिन्छ । यसो हुनुमा शिक्षामा नेपालीले लैजाने रकम धेरै माथि हुनु हो ।
यस वर्ष भ्रमण आय दुई महिनामा ९ अर्ब ३४ करोड रुपैयाँ मात्र छ । यो गत आवको यसै महिनाको तुलनामा ५३.९ प्रतिशत धेरै हो । तर, भ्रमण व्यय समेत ७६.५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष खुद सेवा आय उच्च घाटामा रहेको देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।