काठमाडौं, 20 नोवम्बर 2021
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो । अरुणाको कप्तानीमा नेपालले बंगलादेशको ढाकामा भएको प्रथम बंगमाता एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबलमा स्वर्ण तथा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । कार्यक्रममा अरुणाले नेपालको भलिबललाई उचाईमा पुराउन हरसम्भव प्रयास गर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलकुदका साथै सामाजिक क्षेत्रमा पनि प्रतिष्ठानले कार्य गर्दै आइरहेको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै प्रतिष्ठानले महिला राष्ट्रिय भलिबल टोली र न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई खेल पोशाक पनि प्रदान गरेको थियो ।









































