काठमाण्डौँ, 3 फरवरी 2020
नेपाल पत्रकार महासंघले नेपाल रिपव्लिका मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिक र रिपव्लिका अंग्रेजी दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले आफ्ना हक, अधिकारका लागि सञ्चालन गरेको दबाब आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यवद्धता जनाएको छ। श्रमजीवी पत्रकारको श्रमको मूल्यमा कुनै प्रकारको खेलबाड स्वीकार्य हुन नसक्ने भन्दै समस्या समाधानमा उदासीनता देखाए कडा कदम चाल्ने चेतावनी दिएको छ।
त्यसैगरी टीबीआई पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित कारोबार दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी पत्रकार ऐनअनुरुप पाउनुपर्ने सेवासुविधा लामो समयदेखि प्राप्त गर्न नसकेको विषयमा पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। त्यहाँ कार्यरत पत्रकारले विनियमावली तय गरी न्यूनतम पारिश्रमिक र सेवा, सुविधा थप हुनुपर्ने भन्दै सुरु गरेको दबाब अभियानमा महासंघको ऐकयवद्धता रहेको जनाएको छ।
महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा अतः व्यवस्थापन पक्षले २०७३ साल पुस २५ गते श्रमजीवी पत्रकारसँग गरेको ६ बुँदे सहमति अक्षरशः कार्यान्वयन गरी तत्काल माग सम्बोधन गर्न जोडदार माग गरिएको छ।









































