दिल्ली, 22 जुलाई 2022
सत्तारुढ दल श्रीलंका पोदुजना पेरामुना(एसएलपीपी) का सांसद ७३ वर्षीय दिनेश गुणावर्धने श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति रनिल विक्रमासिंघेले गुणावर्धनेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनले शुक्रबार नै प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । उनी यसअघि विदेश, गृह र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । गत अप्रैलमा उनलाई तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले गृहमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि बिहीबार नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघले शपथ लिएका थिए । उनको शपथसँगै श्रीलंकाली सेना र प्रहरीले सरकारविरोधी प्रदर्शन दबाउन थालेको छ । लामो प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष मुलुक छाडेर भागेका थिए । त्यसपछि संसद्मा भएको निर्वाचनमा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राजापाक्षे परिवारप्रति मात्र नभएर प्रदर्शनकारी विक्रमासिंघेप्रति पनि रुष्ट छन् । विक्रमासिंघले प्रदर्शनकारीमाथि कारबाही हुन सक्ने संकेत पनि गरेका थिए । केही प्रदर्शनकारीले भने उनलाई एक पटक मौका दिनुपर्ने बताएका छन् ।









































