काठमाडौं, 1 नवम्बर 2021
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र लगाएका मुलुकका परिवर्तनलाइ उल्टाउने षडयन्त्र सुरु भएको बताउनुभएको छ । सोमबार कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पूर्वराजाका मान्छेसंग मिलेर एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र उल्टाउने सूचना पाएको बताउनुभएको हो । प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको तर्क गर्नुभयो । अहिले पनि जनतालाई अधिकार दिने र मुलुकको परिवर्तनलाई उल्टाउने दुई प्रवृति र वर्ग देखापरेको उहाको भनाई छ । त्यस्तै प्रचण्डले आफूहरुले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको भन्दै अनुकूल समयमा संविधान संशोधन गर्न सकिने जिकिर गर्नुभयो । प्रचण्डले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको धारणा पनि राख्नुभयो । उहाँले माओवादी प्रतिक्रियावादीको दयाले अहिलको अवस्थासम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताउनुभयो । उहाले अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको दावी गर्दै २०६४ सालको निर्वाचनजस्तै आगामी निर्वाचनमा जनताले माओवादीलाई विश्वास गर्ने जिकिर गर्नुभयो ।









































