काठमाडौं, 5 मार्च 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै यसका लागि संघीय निजामती सेवा ऐन छिटै जारी गर्ने बताउनुभएको हो । उहाले कर्मचारी समायोजनको क्रममा देखिएका समस्यालाई पनि समाधान गर्दै सेवा प्रवाहरुलाइ थप प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको धारणा पनि राख्नुभयो । कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले बैंशाख ३० मा स्थानीय तह निर्वाचन हुने र त्यसपछि आम निर्वाचन हुने भन्दै एमालेले सदन अवरुद्ध गरिरहे आम निर्वाचन केहि समय अघि नै हुनसक्ने बताउनुभयो । थापाले स्थानीय तहको निर्वाचनमा शानदार ढंगले पार्टीले जित हासिल गर्ने दाबी गर्नुभयो । कार्यक्रममा अन्य कांग्रेस नेताहरुले कांग्रेसले आफ्नै जोड बलमा चूनाव जित्ने भन्दै कसैको साहारा लिन आवश्यक नरहेको धारणा राखेका थिए ।









































