काठमाडौं,१६ मार्च, २०२०
चन्द्रागिरी नगरपालिका–१० संतुङगलको एउटा गोदाममा छापा मारेर १० लाख थान मास्क प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार बिहान आरडीजी इन्टरनेशनल सप्लायर्समा छापा मारेको हो । बजारमा मास्कको कृतिम अभाव भइरहेका बेला आरडीजीका संचालक सुवास महेश्वरी र सुरज गोयलले कालो बजारीका लागि गोदाममा मास्क थन्काएर राखेको प्रहरीले जनाएको छ ।
परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले करिब १० लाख थान मास्क बरामद भएको बताए । उनले दुईजना चालकसहित ६ वटा ट्रक नियन्त्रणमा लिएको बताए ।
डीएसपी बोगटीले भने “ दुई चालकसहित मुख्य संचालक ४ जनालाई पक्राउ गरेका छौं ।” उनले थप अनुसन्धान भइरहेको बताए ।
यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।









































