काठमाडौं, 24 दिसम्बर 2022
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा आफ्नो विचार र एजेण्डालाई सचेततापूर्वक राख्न आफ्ना पार्टीका सांसदलाई सुझाव दिएका छन् । अहिले संसदमा संघीयता विरोधी शक्ति पनि आएको बताउँदै उनले सचेततापूर्वक आफ्नो विचार र एजेन्डा राख्न सांसदहरुलाई सुझाव दिएका हुन् । आफ्नो पार्टीबाट निर्वाचित नयाँ सांसदलाई शुक्रबार स्वागत तथा सम्मान गर्दै अध्यक्ष यादवले अहिलेको संसद चुनौतीपूर्ण रहेको समेत बताए ।
अध्यक्ष यादवले भने, ‘ अहिलेको संसदमा जुन खालका शक्तिहरू त्यहाँ छिरेका छन् उनीहरूबाट लोकतन्त्र र संघीयतालाई बचाउन पार्टीले भूमिका खेल्नुपर्छ ।’
पार्टीको तर्फबाट आफ्नो नीति र विचार सचेत ढंगले उठाउन सांसदहरुलाई सुझाव दिँदै उनले मधेशी, आदिवासी, जनजातिको मागलाई उठाउनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले संसद र संसदीय समितिहरुमा आफ्नो उपस्थिति बढाएर आफ्ना कुराहरू राख्न सांसदहरुलाई भनेका छन् ।
उनले भने– ‘गठबन्धनमै सरकारको विषयमा कुरा मिलेको छैन, को प्रधानमन्त्री बन्ने, को नबन्ने कुराको निश्चित भएको छैन भने अन्य दलसँगको कुरा अनिवार्य भएको छैन ।’ उनले अहिले कुन गठबन्धनको सरकार बन्छ अझै निश्चित भइनसकेको बताउँदै जसपा सरकारमा जानका लागि नहतारिने बताए ।









































