काठमाण्डौ, 23 जुलाई 2021
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवलाई निर्वाचन नसार्न आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाइ दिँदै नेता नेम्बाङले यस्तो बताएका हुन्। उनले निर्वाचन सारे देशमा अप्ठ्यारो परिस्थिति सृजना हुने बताए। ‘प्रधानमन्त्री ज्यू, निर्वाचन नसार्नुहोला, फेरि अप्ठ्यारोमा पर्ला,’ उनले भने। नेता नेम्वाङले कांग्रेससँग हार्दिक सम्बन्ध राखेर अघि बढ्ने बताए। उनले भने, ‘एउटा कल्चर स्थापित गर्न हामी लागिपरेका छौं। हामी तपाईंको पार्टीसँग सम्बन्ध विस्तार गर्छौं। तपाइको पार्टीभित्र कोही छुट्दै गठबन्धन बनाउँदैनौं । २०४८ देखिकै संसद्मा प्रधानमन्त्री देउवासँग एमालेको मित्रता र उठबस रहेको स्मरण गर्दै पूर्वसभामुख नेम्वाङले भने,’ हामी जिम्मेवार प्रतिपक्षको भूमिका खेल्छौँ, कस्तो संस्कृतिको विकास गर्ने भन्नेमा हामीले हेक्का गर्नुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिपृथकीकरण कायम गर्ने सन्दर्भमा सर्वोच्च अदालतको फैसलाले कमजोर तुल्याएको जनाउँदै तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न पाउने र ताजा जनादेशमा जाने कुरालाई निरङ्कुश भन्न नमिल्ने धारणा व्यक्त गरे। उनले सर्वोच्च अदालतको फैसलाले धेरै कुरा भत्काएको बताए । ‘फैसलाले धेरै कुरा भत्कायो । धेरै प्रश्न उठायो । प्रधानमन्त्री पदलाई कमजोर बनायो,’ उनले भने ,’यो सरकार जनादेशबाट होइन अदालतको आदेशबाट आएको हो भनिरहँदा धेरै कुरा उठ्छ । अदालतको फैसलाले राज्यका तीन अंग कार्यापालिका, व्यवस्थापिका र न्यापालिकाबीच सन्तुलन मिलने कि भन्ने लागेको छ,’उनले भने,’ त्यसतर्फ सम्मानित प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।









































