काठमाडौं, 27 जुलाई 2022
अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाममा सहभागि नहुने भन्दै पत्राचार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएकोबारे संसदीय समितिले सरकारसँग कारण माग गर्ने भएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकालाई हालसम्म पत्राचार नगर्नुको कारण माग गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जनाइन। यस्तै समितिले रक्षा मन्त्रालयमार्फत एसपीपीका सम्बन्धमा पत्राचार भएका सबै दस्तावेज माग गर्ने भएको छ।‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा भइरहेको ढिलाईबारे सरकारसँग कारण माग गर्ने समितिको निर्णय छ। एसपीपीको विषयमा रक्षा मन्त्रालयले अहिलेसम्म गरेका पत्राचार र आदानप्रदान भएका दस्तावेज माग्ने समितिको निर्णय छ,’ सभापति नरौलाले भनिन्। यस्तै, एमाले नेता भीम रावलले यस विषयका दस्तावेज समितिले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए। समितिको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्राचारमा भइरहेको ढिलाईबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका थिए। असार ६ मा बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा सहभागि नहुने भन्दै अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को यस निर्णय हालसम्म पनि कार्यान्वयन भएको छैन । निर्णय कार्यान्वयनमा भइरहेको ढिलासुस्तीप्रति संसदमा समेत बारम्बार प्रश्न उठिसकेको छ। यस विषयको प्रगतिबारे सदनमा जानकारी दिन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले समेत रुलिङ गरेका थिए।









































