काठमाण्डौँ, 20 फरवरी 2020
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन गर्न सरकारसँग माग गरेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कांग्रेसले सेक्युरेटी प्रेस खरिद प्रकरणमा मन्त्री बास्कोटाले लेनदेनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले सरकारसँग यस्तो माग गरेको हो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार बिहान विज्ञप्ती जारी गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको उल्लेख गर्दै व्यक्तिगत रुपमा कुनै राजनीतिक आग्रह पूर्वाग्रह नभएको बताउनुभयो। कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्ने निकायलाई सहयोग गर्ने दायित्व रहेको बताएको छ। भ्रष्टाचारको कुनै पनि मुद्दामा आग्रह पूर्वाग्रहभन्दा माथि रहेर तथ्यपूर्ण ढंले अनुसन्धान गर्नुपर्छ भन्ने मान्यता कांग्रेसको भएको प्रवक्ता शर्माले बताउनुभयो। उहाँले यो विषयमा सरकारको आधिकारीक जवाफ सार्वजनिक रुपमा आउनुपर्ने र तत्काल एक्सनमा जानुपर्ने माग पनि कांग्रसको रहेको बताउनुभयो।
बिहिबार नै कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले निर्वाचन समितिसँग स्थानीय तहहरुको समायोजनको प्रगतिको विषयमा जानकारी लिएका छन्। प्रवक्ता शर्माका अनुसार निर्वाचन समितिका तर्फबाट पूर्ण बहादुर खड्का र राधेश्यम अधिकारीले दिएको जानकारी अनुसार अहिलेसम्म ३० जिल्लामा समायोजनले पूर्णता पाएको र अन्य ३० जिल्लामा अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। अन्य जिल्लाहरुमा फागुन १५ गतेभित्र काम सक्नेगरी केन्द्रीय कार्यसमितिले सहजीकरण गर्नुपर्ने विषयहरुमा पनि छलफल भएको उहाँले बताउनुभयो।









































