भक्तपुर, 21 मार्च 2020
भक्तपुर–काठमाडौँ 6 लेन सडकको मध्यपुर थिमि नगरपालिका 4 राधेराधेमा शुक्रबार राती बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा 80 प 8692 नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश नं. 3–01–006 ख 379 नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका 9 घर भइ हाल भक्तपुरको सूर्यविनायक बस्ने 33 वर्षीय देवराज लामाको मृत्यु भएको हो।
बसको ठक्करबाट घाइते भएकाले लामालाई तत्काल उद्धार गरी मध्यपुर अस्पताल पुर्याइएको थियो। मध्यपुरले थप उपचारको लागि ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल रिफर गरिएकोमा त्यहीं उपचारको क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।
प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र बस चालक भक्तपुरको चाँगुनारायण नपा 9 ताथली बस्ने 28 वर्षीय प्रवीण त्यातलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको नायब उपरीक्षक गिरीले बताउनुभयो।









































