काठमाडौं, 4 नवम्बर 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री देउवाले बिमानस्थलमा संचारकमीसंगै कुरा गर्दै गठबन्धनमा कुनै समस्या नरहेको र पुरै समय चल्ने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिनुभयो । भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको उहाले बताउनुभयो । सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । जलवायु परिवर्तनको जोखिमको बढी असर नेपालमा परेको र बाढी, पहिरोजन्य विपद्का घटना बढेकोप्रति ध्यानकर्षण गराउँदा अन्य मुलुकले चासो लिएको उहाले बताउनुभयो । त्यस्तै उहाले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी)का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसिसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङगो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी पनि दिनुभयो । प्रधानमन्त्री देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वदेश फर्कनुभएको हो ।









































