सन्दीपविरुद्धको बहस : दुवैपक्षसँग बहस नोट झिकाउन आदेश
काठमाडौं,9 नोभेम्बर 2023
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।
दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै बहस सुरु हुनेछ।
सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ।
जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उक्त आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा छाड्न आदेश दिएसँगै तीन महिना जेल बसेर सन्दीप छुटेका थिए।









































