काठमाडौं, 26 सितंबर 2022
नाबालिग जबर्जस्तीकरणी मुद्धाका आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले गएको शुक्रबार लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । उक्त नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरारसूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन् । गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो । घटनाको भोलिपल्टै लामिछाने केन्यविरुद्ध ट्वन्टी-२० श्रृंखला खेल्न नैरोबी प्रस्थान गरेका थिए । उक्त श्रृंखलापछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि वेस्टइन्डिज पुगेका थिए । जाहेरी दर्ता हुँदा लामिछाने वेस्टइन्डिजमै थिए । त्यहाँ रहँदा नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा रहेका उनको त्यसपछि भने अत्तोपत्तो छैन ।









































