काठमाडौं, 2 मार्च 2022
रुस–युक्रेन द्वन्द्व प्रभावित ३०२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवम् उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायत देशमा पुगेका छन् । समितिका अनुसार मंगलबारसम्म २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । पश्चिमी मुलुकहरूले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संसय थपिएको उनको भनाइ छ । यसअघि, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । यसैबीच रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जनाएका छन् । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफै खटिएका छन् भने नेपाली राजदूत रामकाजी खड्काले बुधबारदेखि सीमा क्षेत्रमा आफै खटिएर नेपालीहरुको उद्धार गर्ने तयारीमा लागेका छन् ।









































