काठमाण्डौ, 26 जुलाई 2021
सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेर छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । त्यस क्रममा उनीहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारेमा पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका छन् । सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।









































