नयाँदिल्ली, ४ मार्च, २०२०
प्रवासी नेपाली लालीगुराश समन्वय समिति, बैंग्लोरका संस्थापक अध्यक्ष तथा समाजसेवी दिलिप आचार्यले भारतसँगपनि नेपाल सरकारले श्रम सम्झौता गरेर कामदार पठाउनुपर्ने सुझाव दिएका छन् । अन्य देशमा जाने युवाहरुजस्तै भारत रोजगारीमा जाने युवाहरुको लागि यो व्यवस्था तत्काल लागु गर्नेपर्ने उनको माग छ ।
उनले आफूमाथिपनि श्रमशोषण भएको दुःखेसो पोखे । अन्य मुलुकमा श्रमको लागि जाने युवाहरुकोजस्तै भारतमापनि ओभर टाईम काम गरेको भए त्यसको उचित मुल्यांकन हुनुपर्ने उनको सुझाव छ ।
फरक प्रसँगमा उनले समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलगायत सबै शीर्ष नेता, पूर्व प्रधानमन्त्रीहरु र वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ भनेर संसदमा बोलेको कुरा स्वागतयोग्य भएको भन्दै तत्काल यो लागु गर्न माग गरे ।
उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई राजनीतिक रुपमा किन प्रतिबन्ध लगाईयो ? भनेर प्रश्न समेत गरे । त्यस्तै, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीजस्तो स्वतन्त्र व्यक्तिमाथि प्रहरी प्रशासनले धरपकड किन गरेको छ भन्दै अर्को प्रश्न उठाए । शाहीलाई निर्वाध रुपमा आफ्ना कामहरु गर्न दिनुपर्ने उनको भनाई छ ।









































