काठमाडौं, 30 नवम्बर 2022
प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ। निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए। प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ। हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो स्थानमा रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले ११ लाख ४५ हजार चार सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार एक सय ७५, जनता समाजवादी पार्टी नेपालले तीन लाख ९६ हजार आठ सय ३९ र जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ।









































