काठमाडौं, 31 जनवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहालले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन्।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए। उनले यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्ने विश्वास व्यक्त गरे।
वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानूनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्दन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण गर्ने सरकारको नीति रहेको बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति अगाडि सारिएको प्रधानमन्त्रीको भनाइ छ ।
आजको युग विज्ञान प्रविधिको युग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस युगलाई हामीले ‘डिजिटल इरा’का रूपमा संश्लेषण गर्न सकिने धारणा राखे ।









































