काठमाडौं, 5 अप्रैल 2023
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए । बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यस्तो बताएका हुन्। महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताए ।
‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ’, उनले भने, ‘तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’
नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्यो भन्ने महसुस गराउन सक्नुपर्ने बताए । यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको उनको गुनासो छ ।
‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ’, कांग्रेस महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुले त यो बेलामा फोटो खिच्नुपर्दैन । ३ महिना जति प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो । नराम्रो अर्थमा होइन । हामी छौं नि फुर्सदमा ।’
तीन महिनाजति प्रधानमन्त्री, मन्त्रीको नाम कतै पनि देख्न नपाए पनि हुनेजस्तो लागेको थापाले बताए।









































